
काठमाडौं । पर्यटक उद्धारका नाममा सञ्चालन हुँदै आएको ‘फेक रेस्क्यु’ प्रकरणमा अनुसन्धान तीव्र बनाउँदै प्रहरीले विभिन्न कम्पनीसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ट्राभल एजेन्सी, हेलिकप्टर कम्पनी र सम्बन्धित व्यक्तिमाथि छानबिन अघि बढाएसँगै एकपछि अर्को खुलासा हुँदै गएको हो।
यसैक्रममा माउन्टेन हेलिकप्टर प्रा.लि. का म्यानेजिङ डाइरेक्टर राजेन्द्र बहादुर सिंह पक्राउ परेका छन्। उनीसँगै रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारी र बिजनेस अप्रेसन म्यानेजर सन्दीप भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू फेक रेस्क्यु मार्फत अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट ठूलो रकम असुल्ने गिरोहमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले आवश्यक नभएको अवस्थामा समेत हेलिकप्टर उद्धार गराउने, अस्पताल भर्ना गराउने र त्यसका आधारमा अस्वाभाविक बीमा दाबी गर्ने जस्ता गतिविधि भएको देखाएको छ।
तर, यस घटनाले अनुसन्धानको दायराबारे गम्भीर प्रश्न पनि उठाएको छ। माउन्टेन हेलिकप्टर प्रा.लि. का अध्यक्ष तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा भने अहिलेसम्म अनुसन्धानको दायरामा नआएको भन्दै आलोचना सुरु भएको छ। अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार कम्पनीका कार्यकारी प्रमुख नै पक्राउ परिसक्दा नेतृत्व तहमा सोधपुछ नहुनु अस्वाभाविक देखिएको छ।
रोचक संयोग के देखिएको छ भने, गत भदौ २३–२४ को जेनजी आन्दोलनको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगका सदस्यहरूमध्ये विज्ञानराज शर्मा पनि थिए। उक्त आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि फागुन २४ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। तर, स्रोतहरूका अनुसार सो प्रतिवेदनमाथि नै विवाद उठेको छ। केही प्रहरी अधिकृतमाथि व्यक्तिगत पूर्वाग्रहका आधारमा कारबाही सिफारिस गरिएको आरोप लाग्दै आलोचना भइरहेको छ।
यही पृष्ठभूमिमा अहिले थप गम्भीर प्रश्न उठ्न थालेको छ—
अरूलाई कारबाही सिफारिस गर्ने भूमिका खेलेका शर्मा आफ्नै कम्पनीसँग जोडिएको फेक रेस्क्यु प्रकरणमा किन मौन छन्?
नेपालमा लामो समयदेखि ट्राभल कम्पनी, हेलिकप्टर सेवा, अस्पताल र एजेन्टहरूको मिलेमतोमा नक्कली उद्धार गराई बीमा कम्पनीबाट करोडौँ रकम असुल्ने गतिविधि चलिरहेको आशंका छ। यस प्रकरणले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ। विज्ञहरूका अनुसार यस्ता गतिविधि निरन्तर रहिरहेमा अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपाललाई जोखिमपूर्ण गन्तव्यको रूपमा हेर्न सक्ने र त्यसले पर्यटन उद्योगमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।
























