
काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।
यस वर्ष एसईई परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ४८ हजार ३९२ विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ३.२० देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्म ल्याउने ९४ हजार २२२ जना छन् ।
बोर्डका अनुसार २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७, २.०० देखि २.४० ल्याउने ५ हजार १९० तथा १.६० देखि २.०० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी वर्गीकृत विद्यार्थी बागमती प्रदेशमा ७७ हजार ११३ रहेका छन् भने कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, लुम्बिनीमा ४४ हजार २५६, गण्डकीमा २६ हजार ५५०, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन् ।
सरकारको निर्देशनअनुसार ३० दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित बोर्डले २९ दिनमै नतिजा प्रकाशित गरेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो ।
“परीक्षण राम्रो हुँदैन भन्ने आशंका थियो, तर शिक्षकहरूले इथिक्समा रहेर जिम्मेवारीपूर्वक परीक्षण गर्नुभएको छ,” अधिकारीले भने ।
यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन् । तीमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी रहेका छन् ।
प्राध्यापक डा. विद्यानाथ कोइरालाले नतिजा सुधार हुनुमा तीन प्रमुख कारण रहेको बताए । उनका अनुसार विद्यालयहरूले अतिरिक्त कक्षा सञ्चालन गर्नु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्नु तथा पहिल्यै प्रश्नपत्रको मोडेल उपलब्ध गराइनुले नतिजामा सकारात्मक प्रभाव परेको हो ।
बोर्डले अनुत्तीर्ण विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ । साथै, नतिजामा चित्त नबुझे पुनर्योगका लागि १ जेठदेखि ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।





















