
काठमाडौँ — आजबाट सुरु हुन गइरहेको कक्षा १२ को परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
एक सन्देश जारी गर्दै आईजीपी कार्कीले परीक्षार्थीहरूलाई सफलताको कामना गर्दै उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गरेका हुन्। उनले परीक्षालाई जीवनको महत्वपूर्ण मोडको रूपमा उल्लेख गर्दै उत्तरपुस्तिकाबाट सुरु भएको विद्यार्थीहरूको सपनाको यात्रा जिम्मेवार नागरिकतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।
सन्देशमा उनले अनुशासन, इमान्दारिता र समर्पणलाई जीवनको आधार बनाउन आग्रह गर्दै नेपाल प्रहरी जस्तो गौरवशाली संगठन सधैं सक्षम, ऊर्जावान र राष्ट्रप्रति समर्पित युवाशक्तिको प्रतीक्षामा रहने बताएका छन्।”परीक्षाको उत्तरपुस्तिकाबाट सुरु भएको तपाईंहरूको सपनाको यात्रा जिम्मेवार नागरिकतर्फ अघि बढ्दै जाँदा नेपाल प्रहरी जस्तो गौरवशाली संगठन तपाईंहरूलाई स्वागत गर्न तयार छ,” आइजीपी कार्कीले सन्देशमा भन्नुभएको छ।
आईजीपी कार्कीले निकट भविष्यमा नेपाल प्रहरीका जनपद तथा प्राविधिक समूहका विभिन्न पदहरूमा सेवा प्रवेश गर्दै विद्यार्थीहरूले आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्रसेवामा रूपान्तरण गर्ने अवसर प्राप्त होस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।उनको सन्देशले परीक्षार्थीहरूमा आत्मविश्वास र प्रेरणा थपेको देखिएको छ।





















