काठमाडौं । प्रहरी संगठनमा तीन दशकभन्दा लामो सेवा गरेर अवकाश जीवन बिताइरहेका पूर्व एआईजी विज्ञानराज शर्मा पुनः सार्वजनिक बहसको केन्द्रमा आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने दौडमा सक्रिय देखिएका उनीमाथि पुराना विवादसँगै नयाँ आरोपहरू थपिँदै गएका छन्।

शर्मामाथि सबैभन्दा गम्भीर रूपमा उठाइएको आरोप भनेको कथित रूपमा गुन्डा नाइके राजु गोर्खालीसँगको निकट सम्बन्ध हो। प्रहरी स्रोतहरूका अनुसार एसएसपी रहँदा नै उनी र गोर्खालीबीचको सम्बन्धबारे प्रश्न उठेको थियो। चेक बाउन्स मुद्दामा फरार रहेका गोर्खालीलाई शर्माले आफ्नै सवारी साधनमा राखेर हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको घटना अझै पनि सुरक्षा निकायभित्र चर्चामा रहने गरेको बताइन्छ।

स्रोतका अनुसार उक्त घटनामा शर्माले आफ्नो पदको प्रभाव प्रयोग गरेको आरोपसमेत लाग्दै आएको छ। यद्यपि, यी विषयमा शर्माले सार्वजनिक रूपमा कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।पछिल्लो समय पनि शर्मा र गोर्खालीबीचको सम्बन्ध कायम रहेको दाबी गरिएको छ। उनीहरू बिहान सँगै मर्निङ वाकमा निस्किने गरेको चर्चा सुरक्षा निकायभित्रै हुने गरेको स्रोतहरूको भनाइ छ।

यता, भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको छानबिनका लागि गठित जाँचबुझ आयोगमा सदस्य बनेका शर्मा त्यही भूमिकाका कारण थप विवादमा तानिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब साढे पाँच महिनाको अध्ययनपछि फागुन २४ मा प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो।तर, आयोगभित्र काम गर्ने क्रममा शर्माले अन्य सदस्यभन्दा बढी प्रभाव जमाएको र केही सुरक्षा निकायका उच्च अधिकृतहरूमाथि पूर्वाग्रह राख्दै कारबाही सिफारिसमा सक्रिय भूमिका खेलेको आरोप एक उच्च प्रहरी अधिकारीले लगाएका छन्।

यस्तै, प्रतिवेदन अन्तिम रूप लिनुअघि नै शर्मा राजनीतिक वृत्तमा सक्रिय भएको दाबी पनि गरिएको छ। संसदमा बलियो उपस्थिति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग उनले अख्तियार आयुक्त बन्ने विषयमा छलफल गरेको स्रोतहरू बताउँछन्।अख्तियारका आयुक्त किशोर सिलवाल अवकाशमा गएपछि रिक्त रहेको पदमा नियुक्त हुन शर्मा सक्रिय रूपमा लबिङमा लागेको आरोप छ। आयोगको प्रतिवेदन बुझाएलगत्तै उनी उक्त पदतर्फ केन्द्रित भएको चर्चा छ।गुन्डा नाइकेसँगको कथित सम्बन्ध, छानबिन आयोगभित्रको भूमिका र राजनीतिक पहुँचको खोजी—यी सबै विषयले शर्माको सम्भावित नियुक्ति विवादरहित नभएको संकेत गरेका छन्।

भ्रष्टाचारविरुद्धको प्रमुख संवैधानिक निकाय अख्तियारमा नियुक्त हुने व्यक्तिको विगत, आचरण र पारदर्शिता उच्चस्तरको हुनुपर्नेमा जोड दिइन्छ। यस्तो अवस्थामा शर्मामाथि उठेका प्रश्नहरूले संस्थाको विश्वसनीयतामाथि नै असर पार्न सक्ने भन्दै सरोकारवाला वृत्तमा चिन्ता व्यक्त हुन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्