
काठमाडौं, चैत —दानबहादुर कार्कीले प्रहरी सेवामा बिचौलियाको चलखेल अन्त्य गर्न कडा निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गर्दै उनले सेवाग्राहीलाई सिधै सेवा दिनुपर्नेमा जोड दिए।
आइजीपी कार्कीले कुनै एक व्यक्तिका नाममा अनेकौं बिचौलिया घुसेर व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति अब सह्य नहुने स्पष्ट पारे। “एक जनाको कामका लागि धेरै मानिस धाउनु पर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने।
निवेदन लेख्ने नाममा सर्वसाधारण, विशेष गरी सीमान्तकृत वर्गबाट रकम असुल्ने प्रवृत्तिप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। त्यस्ता वर्गका लागि प्रहरीले निःशुल्क रूपमा निवेदन लेखिदिनुपर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै उनले स्वयंसेवीहरूलाई समेत यसमा सहयोग गर्न आग्रह गरे।
उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई बोली र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई नागरिकको अपेक्षा समयमै सम्बोधन गर्न निर्देशन दिए। प्रभावकारी र जनमुखी सेवा प्रवाहमार्फत प्रहरीप्रतिको विश्वास अझ मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।प्रविधिमैत्री सहर निर्माणको आवश्यकतामा जोड दिँदै कार्कीले सीमित स्रोत–साधनका बाबजुद नागरिकप्रतिको जिम्मेवारी र जनसमर्थनले प्रहरीलाई अझ उत्तरदायी बन्न प्रेरित गरेको उल्लेख गरे।
























