
काठमाडौं, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति गगन थापा पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन्।अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको नेपाली कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत घट्दै दोस्रो दलमा सीमित भएको छ। पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेसले प्रत्यक्षतर्फ १०७ सिटको फराकिलो अन्तरले पछि परेको छ।निर्वाचनमा पार्टीको कमजोर प्रदर्शन र सभापति स्वयं पराजित भएपछि थापामाथि नैतिक जिम्मेवारीको प्रश्न उठ्न थालेको छ।
थापालाई भेटेका केही नेताहरूका अनुसार उनले निर्वाचन परिणामको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने संकेत दिएका छन्।उपसभापति विश्वप्रकाश शर्मा सँगको भेटमा पनि थापाले राजीनामा दिने विचार व्यक्त गरेका थिए। तर शर्माले पराजयलाई एक व्यक्तिसँग मात्र जोड्न नहुने भन्दै अहिले राजीनामा दिनु उपयुक्त नहुने सुझाव दिएका छन्।पार्टीभित्र भने यस विषयमा फरक–फरक धारणा देखिएको छ। केही नेताहरूले नैतिक जिम्मेवारीका आधारमा सभापतिले पद त्याग गर्नुपर्ने तर्क गरिरहेका छन् भने अर्का पक्षले अहिले नेतृत्व परिवर्तन गर्दा पार्टी झनै संकटमा पर्ने चेतावनी दिएका छन्।
यस निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिटसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ। पार्टीले छिट्टै केन्द्रीय समिति बैठक बोलाएर निर्वाचन परिणामको ‘निर्मम समीक्षा’ गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।यसबीच सामाजिक सञ्जाल र पार्टीभित्र सभापति थापाको राजीनामा, नेतृत्वको जिम्मेवारी र आगामी महाधिवेशनको विषयलाई लिएर बहस तीव्र बनेको छ।
























