
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव र मूल्यवृद्धिको समस्या देखिएको भन्दै उपभोक्ताहरू मर्कामा परेका छन्। नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरिरहे पनि केही बिक्रेताले प्रतिसिलिन्डर २ हजार ५ सय रुपैयाँसम्म ग्यास बिक्री गरिरहेको गुनासो आएको छ। निगमले तोकेको प्रतिसिलिन्डर मूल्य भने १९१० रुपैयाँ मात्र हो।
पछिल्लो समय मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको चर्चा भइरहे पनि नेपालमा भने यसको प्रत्यक्ष प्रभाव ग्यास आपूर्तिमा नदेखिएको उद्योगी र सरकारी निकायले बताएका छन्। तर बजारमा कृत्रिम अभावको हल्ला फैलाएर केही बिक्रेताले कालोबजारी गरिरहेको आरोप उपभोक्ताबाट आउन थालेको छ।एलपी ग्यास उद्योगी शिवप्रसाद घिमिरेले बजारमा ग्यासको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार अहिले सामान्य अवस्थाको तुलनामा १० देखि १५ प्रतिशत बढी ग्यास आपूर्ति भइरहेको छ।
‘अहिलेसम्म आपूर्तिमा कुनै समस्या आएको छैन, नियमित रूपमा ग्यास आइरहेको छ,’ उनले भने। बजारमा अभावको हल्ला फैलाएर उपभोक्तासँग महँगो मूल्य असुलिएको गुनासोप्रति उनले त्यस्ता कालोबजारी गर्नेहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।‘यदि कसैले गलत रेटमा ग्यास बेचेको छ भने उसलाई कारबाही हुनुपर्छ,’ घिमिरेले भने, ‘सरकारले घाटा खाएर बेचिरहेको र उद्योगीले पनि कुनै गलत नगरेको अवस्थामा कसैले अभावको मौका छोपेर ठगी गर्छ भने अनुगमन गर्ने निकाय सक्रिय हुनुपर्छ।’
उपभोक्ताको सहजताका लागि नेपाल आयल निगमले टेकुस्थित आफ्नो कम्पाउन्डमा विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराएको जनाएको छ। आपतकालीन अवस्थामा उपभोक्ताले त्यहाँबाट सहजै ग्यास लिन सक्ने व्यवस्था गरिएको उद्योगीहरूले बताएका छन्।नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि मुलुकमा एलपी ग्यासको पर्याप्त आपूर्ति भइरहेको बताएका छन्। उनका अनुसार बजारमा माग अनुसार ग्यास आपूर्ति भइरहेकाले अभावको हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।
बजारमा केही बिक्रेताले कृत्रिम अभाव देखाउँदै बढी मूल्य असुलिरहेको गुनासो बढेपछि त्यस्ता बिक्रेतामाथि कडा निगरानी सुरु गरिएको निगमले जनाएको छ। निगमले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नेहरूलाई कारबाही गरिने चेतावनी समेत दिएको छ।
























