
गृहमन्त्री सुधन गुरूङ ले शनिबार सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग दुई घण्टा लामो छलफल गरेका छन्। अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बसेको उक्त बैठकमा पछिल्लो सुरक्षा अवस्थाबारे गहन समीक्षा गरिएको हो।बैठकमा दानबहादुर कार्की (नेपाल प्रहरी) र राजु अर्याल (सशस्त्र प्रहरी बल) सहित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। साथै गृह मन्त्रालयका कर्मचारीहरू पनि बैठकमा सहभागी थिए।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले का अनुसार बैठकमा देशको शान्ति–सुरक्षाको समग्र अवस्थाको विश्लेषण गर्दै सुरक्षा संयन्त्रको वर्तमान स्थितिबारे ब्रिफिङ गरिएको थियो।उनका अनुसार आउँदो नयाँ बजेटमा सुरक्षा क्षेत्रसँग सम्बन्धित प्राथमिकता र कार्यक्रमहरू समावेश गर्ने विषयमा पनि छलफल भएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकलगत्तै गृहमन्त्री गुरूङले सुरक्षा निकायसँग प्रारम्भिक छलफल गरेका थिए। त्यसको भोलिपल्ट शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरी नियन्त्रणमा लिइएपछि उत्पन्न परिस्थितिको समीक्षा बैठकमा विशेष रूपमा उठाइएको स्रोतले जनाएको छ।
ओलीको पक्राउविरुद्ध नेकपा एमाले ले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको थियो भने देशका विभिन्न स्थानमा पनि विरोध प्रदर्शन भएका छन्।स्रोतका अनुसार बैठकमा सुरक्षा परिचालनको प्रभावकारिता, विभिन्न स्थानमा भएको गतिविधि, तथा कहाँ कस्तो तयारी पुगेको वा अपुग भएको विषयमा विस्तृत समीक्षा गरिएको थियो।






















