
मन्त्रिपरिषद्को निर्णयलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार शनिबार बिहान पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।मन्त्रिपरिषद्ले १३ चैतमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा थप अध्ययन समिति गठन गरिने र अन्य सिफारिसहरू तत्काल लागू गरिने उल्लेख गरिएको छ।
निर्णय कार्यान्वयनका लागि सुदन गुरुङ नेतृत्वको गृह मन्त्रालयले तत्काल कदम चाल्दै पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। उक्त निर्देशन प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित निकायहरूमा पठाइएको थियो।
अपराध अनुसन्धान विभाग हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रक्रिया अघि बढाइएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार जरुरी पक्राउ पुर्जी जारी गर्दै १४ चैत बिहान ओलीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पुर्जीमा उनीमाथि ज्यानसम्बन्धी कसूरको अनुसन्धान भइरहेको उल्लेख छ।
प्रहरीका अनुसार ओलीले बिहान ६:१० बजे पक्राउ पुर्जी बुझ्दै हस्ताक्षर गरेका थिए। त्यसपछि उनलाई उनकै सवारीसाधनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।यस घटनाले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ भने आयोगको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अझ तीव्र रूपमा अघि बढ्ने संकेत देखिएको छ।





















