काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा गम्भीर अनुसन्धान भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन्।

आईजीपी कार्कीका अनुसार घटनाको अनुसन्धानका लागि पर्याप्त प्रहरी परिचालन गरिएको छ र छिट्टै सत्यतथ्य सार्वजनिक गरिनेछ। उनले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर न्याय सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।

“इनिशा विक हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी सक्रिय रूपमा परिचालित छ। छिट्टै वास्तविकता बाहिर ल्याइनेछ,” उनले भने।उनले नेपाल प्रहरीले जाति तथा रंगभेद उन्मूलनका लागि सक्रिय रूपमा काम गरिरहेको बताउँदै विभेदजन्य गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे। समाजमा विद्यमान विभेद अन्त्य गर्न कानुनी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेकोमा उनले जोड दिए।

आईजीपी कार्कीले जातीय विभेद जस्तो सामाजिक विकृतिको अन्त्य बिना समतामूलक समाजको परिकल्पना सम्भव नहुने उल्लेख गर्दै यस्ता घटनामा प्रहरीको शून्य सहनशीलताको नीति रहेको बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि समाजमा अझै जातीय विभेद विद्यमान रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, शिक्षा र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। विशेषगरी दलित समुदायमाथि हुने हिंसा र विभेदका घटनामा द्रुत न्याय सुनिश्चित गर्न राज्य संयन्त्र अझ जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्