काठमाडौं — एक अनलाइन मिडियाले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की विरुद्ध ‘नसिहतसहित कारबाही सिफारिस’ गरिएको दाबी गर्दै समाचार प्रकाशित गरेपछि त्यसको विश्वसनीयता र नियतमाथि प्रश्न उठ्न थालेको छ। प्रतिवेदन सार्वजनिक नै नभइसकेको अवस्थामा सनसनीपूर्ण शीर्षक बनाएर प्रहरी संगठनका प्रमुखको छवि धुमिल बनाउने प्रयास गरिएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। स्रोतहरूका अनुसार ‘नसिहत’ कुनै अन्तिम सजाय नभई प्रशासनिक प्रक्रियाअन्तर्गत दिइने सामान्य सचेत गराउने कदम मात्र हो। आधिकारिक प्रतिवेदन सार्वजनिक हुनुअघि नै त्यसलाई तोडमोड गरेर प्रचार गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहितासँग मेल नखाने उनीहरूको भनाइ छ। विश्लेषकहरूका अनुसार यस्ता शीर्षकहरूले प्रहरी संगठनजस्तो संवेदनशील संस्थाको नेतृत्वमाथि अनावश्यक मनोवैज्ञानिक दबाब सिर्जना गर्ने खतरा हुन्छ।

तर यसबीच, प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापन भने उल्लेखनीय रूपमा सफल भएको तथ्यले अर्को तस्वीर देखाएको छ। २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचन २०७९ को निर्वाचनको तुलनामा धेरै शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको सुरक्षा निकायहरूको मूल्यांकन छ।

२०७९ को निर्वाचनमा देशका विभिन्न जिल्लामा झडप, हिंसा र अवरोधका घटनाहरू भएका थिए। बाजुरा र कालिकोटमा गरी चार जनाको मृत्यु भएको थियो भने विभिन्न जिल्लामा २३ जना घाइते भएका थिए। ताप्लेजुङदेखि दार्चुलासम्मका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन विथोल्ने प्रयास भएका थिए भने देशभर करिब ५० स्थानमा झडप र ६२ मतदान स्थलमा मतदान अवरुद्ध भएको थियो। तर हालै सम्पन्न निर्वाचनमा भने सुरक्षा व्यवस्थापन प्रभावकारी भएपछि ठूलो झडप वा हिंसात्मक घटना हुन पाएन। कतिपय स्थानमा सामान्य विवाद देखिए पनि सुरक्षाकर्मीले संयमित र सक्रिय रूपमा स्थिति नियन्त्रणमा लिँदा मतदान प्रक्रिया अवरोधबिनै सम्पन्न भएको थियो।विशेषगरी जेनजी आन्दोलनपछि नेपाल प्रहरीको मनोबल खस्किएको, हतियार लुटिएको र कैदी फरार भएका घटनापछि सुरक्षा व्यवस्थापनबारे विभिन्न शंका उठेका थिए। तर प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा नेपाल प्रहरीले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा परिचालन भई प्रभावकारी भूमिका खेलेको बताइएको छ। सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरी संवेदनशील जिल्लाहरूमा उच्चस्तरीय अनुगमन र सुपरीवेक्षण गरिएको थियो।

मानवीय क्षतिको दृष्टिले पनि यसपटकको निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण रह्यो। २०७९ मा जस्तो मृत्यु र ठूलो संख्यामा घाइते हुने घटना दोहोरिएन भने मतदान स्थगित भई पुनः मतदान गर्नुपर्ने अवस्था पनि सिर्जना भएन।सुरक्षा विश्लेषकहरूका अनुसार अघिल्ला निर्वाचनका अनुभव, सुरक्षा निकायबीचको समन्वय, राजनीतिक दल तथा मतदाताको सचेतना र व्यवस्थित सुरक्षा योजनाले यसपटकको निर्वाचनलाई तुलनात्मक रूपमा शान्तिपूर्ण बनाएको हो। उनीहरूका अनुसार प्रहरी महानिरीक्षक कार्कीको रणनीतिक नेतृत्व र नेपाल प्रहरीको अनुशासित परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

यसरी एकातिर प्रतिवेदन सार्वजनिक नहुँदै आएको ‘नसिहत’ सम्बन्धी हेडलाइन विवादमा परिरहेको अवस्थामा, अर्कोतर्फ प्रहरी नेतृत्वको सुरक्षा रणनीतिले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराएको तथ्यले घटनाक्रमलाई फरक दृष्टिकोणबाट पनि हेर्नुपर्ने देखिएको विश्लेषकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्