काठमाडौं । प्रायः साधारण पहिरनमा देखिने र सिधा तथा स्पष्ट वाकशैलीका कारण देशभर चिनिएका हर्कराज राई (हर्क साम्पाङ) अब संघीय संसद्‌सम्म पुगेका छन्। स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बनेका साम्पाङले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा ‘श्रम संस्कृति पार्टी’ स्थापना गरेका थिए।

धरानको मेयर पदबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएका साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङलाई आठ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।१६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो राजनीतिक विचारलाई ‘हर्कवाद’ नाम दिएको छ। प्रकृति, संस्कृति र प्रविधिबीच सन्तुलन कायम गर्ने अवधारणालाई ‘हर्कवाद’का रूपमा व्याख्या गरिएको छ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘माटो’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। पार्टी अध्यक्ष साम्पाङ सुनसरी–१ बाट विजयी हुँदा भोजपुर–१ बाट ध्रुवराज राई र खोटाङ–१ बाट आरेन राई निर्वाचित भएका छन्। ध्रुवराज राईले १६ हजार ६६३ र आरेन राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन्।

स्थापनाको चार महिनामै संसदीय चुनावमा सहभागी भएको श्रम संस्कृति पार्टीले पूर्वी नेपालका पहाडी तथा हिमाली जिल्लामा उल्लेखनीय समर्थन पाएको देखिएको छ। यसले पुराना दलका परम्परागत गढहरूमा चुनौती दिँदै नयाँ राजनीतिक शक्ति उदाएको संकेत दिएको विश्लेषकहरू बताउँछन्।पूर्वी पहाडका केही जिल्लामा श्रम संस्कृति पार्टीले राम्रो मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव सीमित देखिएको छ। पाँचथर, इलाम, धनकुटा लगायतका क्षेत्रमा श्रम संस्कृतिका उम्मेदवारहरूले प्रतिस्पर्धात्मक मत प्राप्त गरेका छन्।यद्यपि कोशी प्रदेशको तराई क्षेत्रका झापा, मोरङ र सुनसरीका अधिकांश निर्वाचन क्षेत्रमा भने रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। तर श्रम संस्कृति पार्टीले ती क्षेत्रमा पनि सम्मानजनक मत ल्याएर आफ्नो उपस्थिति देखाएको छ।

साम्पाङको राजनीतिक यात्रा असामान्य मानिन्छ। कलाकार बन्ने चाहनासहित उनले २०६४ सालमा ‘मिसिङ हर्ट’ नामक लोक–आधुनिक एल्बम निकालेका थिए। त्यसपछि कहिले अंग्रेजी शिक्षक त कहिले वैदेशिक रोजगारीका लागि इराक र अफगानिस्तानसम्म पुगे।नेपाल फर्किएपछि समाजमा देखिएका बेथितिविरुद्ध एक्लै सडक आन्दोलन सुरु गरेका साम्पाङलाई धरानका नागरिकले साथ दिए। यही जनसमर्थनका आधारमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर बनेका थिए। मेयरबाट सुरु भएको उनको राजनीतिक यात्रा अब प्रतिनिधिसभासम्म पुगेको छ, जसले पूर्वी नेपालको राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्