
काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा मधेश केन्द्रित राजनीतिका प्रभावशाली नेताहरूलाई मतदाताले अस्वीकार गरेका छन्। विभिन्न दलका ८ जना अध्यक्ष तथा सभापति मधेशका निर्वाचन क्षेत्रबाट पराजित हुँदा नयाँ राजनीतिक शक्ति रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय देखिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट पराजित भए। काठमाडौंमा तीनपटक जितेका थापा मधेश झरे पनि रास्वपाका अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए।यसैगरी समुन्नत नेपाल पार्टीका अध्यक्ष तथा पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा–४ मा रास्वपाका रहबर अन्सारीसँग पराजित भए। सोही क्षेत्रमा राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी पनि प्रतिस्पर्धामा पछाडि परे।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरीसँग हार बेहोरे भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सप्तरी–२ मा रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन्।रौतहट–३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत हार नजिक पुगेका छन्, जहाँ रास्वपाका रविन्द्र पटेल अग्रस्थानमा छन्। त्यस्तै सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो चौथो स्थानमा सीमित भएका छन्।महोत्तरी–३ मा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी पनि रास्वपाका उज्ज्वलकुमार झासँग पराजित भए।
२०७९ को निर्वाचनमा विभिन्न दलले बाँडेका मधेशका ३२ सिटमध्ये यसपटक मतदाताले परम्परागत नेतृत्वलाई चुनौती दिँदै नयाँ शक्ति रास्वपालाई प्राथमिकता दिएको देखिएको छ।
























