काठमाडौँ — जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ।पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाएको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार प्रतिवेदन करिब ८ देखि १० हजार पानाको रहेको छ।सरकारले भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शन तथा त्यसक्रममा युवाहरूको ज्यान गएको घटनाबारे सत्यतथ्य छानबिन गर्न असोज ५ गते आयोग गठन गरेको थियो।

आयोगले घटनासँग सम्बन्धित २०० भन्दा बढी व्यक्तिको बयान लिएको तथा विभिन्न कागजात र प्रमाण संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ। आन्दोलनका प्रत्यक्षदर्शी तथा १५० भन्दा बढी सरकारी अधिकारीसँग पनि बयान लिइएको आयोगले जनाएको छ।आयोगका सदस्य शर्माका अनुसार भदौ २३ र २४ मा भएका घटनाबारे तथ्य पत्ता लगाउने प्रयास गर्दै प्रमाणका आधारमा राय तथा सुझावहरू प्रतिवेदनमा समेटिएका छन्। प्रतिवेदनमा दोषी देखिएकामाथि कारबाहीका लागि सिफारिस गरिएको उनले बताए।“हामीले देखेका तथ्यका आधारमा राय–सुझाव दिएका छौँ। सरकारले प्रतिवेदन ग्रहण गरेको छ र आवश्यक कारबाही सरकारले नै अघि बढाउँछ,” शर्माले भने।

जेनजी आन्दोलनका बेला केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्